Thursday, May 4, 2017

फास्ट ट्रयाकको जिम्मा सेनालाई

Apeal shrestha | May 04, 2017 | Be the first to comment!


वैशाख २२, २०७४- सरकारले काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय बिहीबार गरेको छ । मन्त्रिपरिषद् बैठकले बजेट सरकारले दिने र निर्माणको व्यवस्थापकीय काम सेनाले गर्ने निर्णय गरेको हो ।

दु्रतमार्गको ट्रयाक खोल्ने काम पनि नेपाली सेनाले नै गरेको हो । ‘सरकार आफैंले निर्माण गर्ने कुरा पहिले नै भइसकेकाले सेनाको व्यवस्थापनमा सरकारले बनाउने हो,’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले भने । सेनाले अब निर्माणका लागि समय तालिकासहितको क्यालेन्डर आगामी दुई साताभित्र मन्त्रिपरिषद्मा पेस गर्नुपर्नेछ । उक्त क्यालेन्डर स्वीकृत भएपछिको ४ वर्षमा सेनाले फास्ट ट्रयाक निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । निर्माणको जिम्मेवारी र अनुगमन तथा मूल्यांकनका लागि मन्त्रिपरिषद्ले दुई समिति बनाउने भएको छ ।



मन्त्री लेखकका अनुसार नेपाली सेनाका प्रधानसेनापतिले तोकेका जर्नेल निर्देशक समितिको प्रमुख तथा संयोजक रहने छन् । ‘निर्देशक समितिले व्यवस्थापनको काम गर्नेछ, जसमा सेनाकै युद्ध कार्य महानिर्देशनालयका प्रमुख र इन्जिनियरिङ विभागका प्रमुख सदस्य हुनेछन्् । भौतिक, रक्षा र अर्थ मन्त्रालयका सहसचिव पनि सदस्य रहने गरी विशेष प्रकृतिको संयन्त्र गठन गरिएको छ,’ उनले भने ।

त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा अनुगमन तथा मूल्यांकन समिति पनि गठन गरिनेछ । उक्त समितिमा आयोगकै भौतिक पूर्वाधार हेर्ने सदस्य एवं भौतिक, अर्थ र रक्षा मन्त्रालयका सचिव रहने छन् । ‘त्यो समितिले निरन्तर प्रगति विवरण लिने र मूल्यांकन गर्ने काम गर्नेछ,’ उनले भने, ‘अनुगमन समितिले मासिक रूपमा प्रगतिको विवरण प्रधानमन्त्री र नेपाल सरकारलाई जानकारी गराउनेछ ।’

फास्ट ट्रयाकको मापदण्ड र गुणस्तरीयता कायम राख्न परामर्शदाता नियुक्त गर्न पाउने अधिकार पनि सेनालाई दिइएको छ ।

व्यवस्थापिका–संसदको अर्थ र विकास समितिले पटक–पटक फास्ट ट्रयाक स्वदेशी पुँजीमै निर्माण सरकारलाई निर्देशन दिएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो । सुशील कोइराला नेतृत्वको सरकारले फास्ट ट्रयाक निर्माणको जिम्मा भारतको इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेस लिमिटेड’ (आईएल एन्ड एफएस) लाई दिने तयारी गरेको थियो । अधिक सुविधा र सहुलियतमा उक्त कम्पनीलाई सम्झौता गरी जिम्मा दिने तयारी गरेपछि राजनीतिक दलबीच विवाद भएको थियो ।

भारतबाट प्राप्त सहुलियत ऋणमध्ये ७५ अर्ब रुपैयाँ तीन प्रतिशत ब्याजमा उपलब्ध गराउनुका साथै वर्षको निश्चित रकम आम्दानी नभए सरकारले क्षतिपूर्ति दिने सर्तमा सम्झौताको तयारी भएको थियो । तत्कालीन भौतिक योजना तथा यातायातमन्त्री विमलेन्द्र निधिले सम्झौताका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरे पनि तत्कालीन एमाले मन्त्रीहरूको विरोधका कारण निर्णय हुन सकेको थिएन । केपी ओली नेतृत्वको सरकारले फास्ट ट्रयाक आफैंले बनाउने निर्णय गर्दै १० अर्ब रुपैयाँ बजेट छुट्याएको भए पनि उक्त रकम खर्च हुन सकेको छैन ।

यसै विषयलाई लिएर सर्वोच्च अदालतमा समेत मुद्दा परेको थियो । सरकारले आफैंले बनाउने जवाफ पेस गरेपछि मुद्दा टुंगो लागेको हो । दलीय असमझदारी र अदालतको आदेशपछि उक्त कम्पनीलाई सरकारले निर्माणको जिम्मेवारी नदिने भएपछि नेपाली सेनालाई दिने तयारी मन्त्रालय, योजना आयोग र संसदका समितिहरूले गरेका थिए । विभिन्न समितिहरूले चरण–चरणमा गरेको अध्ययनपश्चात् सरकारले निर्माणको व्यवस्थापन नेपाली सेनालाई नै दिने निर्णय गरेको हो । फास्ट ट्रयाकको निर्माण लागत करिब १ खर्ब १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

एसियाली विकास बैंक (एडीबी) ले सन् २००८ मा विभिन्न फास्ट ट्रयाकबारे अध्ययन गरेको थियो । उपत्यकाबाट तराई जोड्ने सबैभन्दा उत्तम बाटो काठमाडौं–निजगढलाई लिइएको हो । त्यसपछि उक्त द्ु्रतमार्गको ट्रयाक नेपाली सेनाको सहयोगमा खोलिएको हो । फास्ट ट्रयाक उपत्यकाको ललितपुरको खोकनाबाट सुरु हुन्छ । त्यसपछि वाग्मतीको किनारैकिनार करिब २१ किलोमिटर अगाडि जान्छ । चार लेनको बनाउने भनिएको उक्त मार्ग त्यसपछि झन्डै २ किलोमिटर सुरुङ छेडेर सिमाट पुग्छ ।

त्यसपछि बकैया खोलाको किनारैकिनार हुँदै निजगढ पुगेर महेन्द्र राजमार्गमा पुगी समाप्त हुन्छ । एडीबीले तयार पारेको अध्ययनअनुसार उक्त मार्ग भएर यात्रा गर्दा साढे १ देखि २ घण्टामा निजगढ पुग्न सकिने अनुमान छ । नारायणगढ–मुग्लिन हुँदै काठमाडौं आउने सडकको तुलनामा काठमाडौं तराई फास्ट ट्रयाकबाट यात्रा गर्दा १ सय ६० किलोमिटर दूरी छोटो हुने जनाइएको छ ।

उक्त आधारमा तराईबाट राजधानी छिर्ने यात्रुहरूको ४ घण्टा समय पनि बचत हुनेछ ।

read more...

प्रस्ताव फिर्ता होस्

Apeal shrestha | May 04, 2017 | Be the first to comment!


वैशाख २२, २०७४- अख्तियार प्रमुखमा लोकमानसिंह कार्की नियुक्ति विरुद्धको विवादमा ३१ भदौ २०७३ मा प्रधानन्यायाधीश सुशीला कार्की समेतको पूर्ण इजलासले पुनरावलोकन गर्ने अनुमति प्रदान गरेदेखि नै सुशीला कार्कीमाथि सत्ताधारी दलहरू रुष्ट हुन थालेका हुन् ।

लोकमानमाथि महाअभियोग दर्ता भए तापनि अगाडि बढाउने कुरामा राजनीतिक दलहरू उदासीन रहे । लोकमानलाई सर्वोच्चले अयोग्य ठहर्‍याएपछि आफ्नो नाक जोगिएको भनी प्रधानमन्त्री प्रचण्डले निल्नु न ओकल्नु भएको महाअभियोग सम्बन्धमा प्रतिक्रिया दिनुभएको थियो ।



सर्वोच्चले लोकमानलाई अयोग्य हुने ठहर्‍याएपछि बिचौलिया, दुई नम्बरी, राज्यस्रोतमा हालीमुहाली गर्नेहरू तिलमिलाउन थाले । जुन स्रोतले लोकमानलाई प्रमुख आयुक्तमा नियुक्ति गरायो, अहिले तिनीहरू नै सुशीला कार्कीको भ्रष्टाचारमा असहनशीलताले स्वार्थ सिद्ध हुन नसकेकोमा एकजुट भएर महाअभियोगको हतियार प्रयोग गर्न सफल भए । महाअभियोग विशुद्ध राजनीतिक कारणले आएको छ । यसमा देखाइएका कारणहरू पनि सतही र आधारहीन छन् ।

भ्रष्टाचार र सुशासन विरुद्धका मुद्दामा सुशीलाका पालामा थालिएका कदमले सत्तासीनहरूमा ज्वरो फुटेको देखियो । एक वर्षयता एक तिहाइ भ्रष्टाचार मुद्दा किनारा लगाइयो । उनी निवृत्त हुनुअघि नै केही भ्रष्टाचार मुद्दा पेसीमा लाइनमा छन्, ती मुद्दालाई प्रभावित पार्ने गरी महाअभियोग ल्याइएको छ ।

सुशीला कार्कीले भ्रष्टाचार मुद्दामा असहनशीलता देखाएपछि नेपाल बार, लोकमान लगायत प्रहरी प्रमुखका मुद्दाका जयबहादुर चन्द पक्षका वरिष्ठ अधिवक्ताहरू र महान्यायाधिवक्तासमेत कांग्रेस सभापतिकहाँ प्रधानन्यायाधीशविरुद्ध उजुर गर्न गएका थिए । प्रधानन्यायाधीश वा कुनै न्यायाधीशउपरको उजुरी सुन्ने निकायको रूपमा राजनीतिक दल र उसका सभापतिलाई बनाइयो । त्यही उजुरी नै महाअभियोगका रूपमा परिणत हुन पुग्यो ।

अदालत भित्रको इजलास तोक्ने कुरामा पनि मुद्दाका पक्ष र राजनीतिक दलको निर्देशनमा नगरेकोमा सुशीला दोषी हुन पुगिन् । अमुक मुद्दामा अमुक न्यायाधीशलाई राखिनुपर्ने भन्ने मुद्दाका झगडिया र राजनीतिक दलको भनाइ नमानेकोमा प्रधानन्यायाधीशलाई दोषी मानियो ।

महाअभियोग संवैधानिक प्रक्रिया भए तापनि राजनीतिक स्वार्थको लागि त्यसको प्रयोग विश्वमा कतै गरिँदैन । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको आआफ्नै क्षेत्राधिकार हुन्छन् । अन्य दुई अंगले गरेका कामको संवैधानिकता जाँच्ने अधिकार भने न्यायपालिकालाई मात्र हुन्छ । व्यवस्थापिकाले बनाएको ऐन संविधानसँग बाझिएकोमा प्रधानन्यायाधीश हरिप्रसाद प्रधान र विश्वनाथ उपाध्याय लगायतको पालादेखि नै अमान्य ठहर्‍याइँदै आएको छ । त्यस्तोमा विधायिकाको अधिकार हनन र हस्तक्षेप भएको मानिँदैन ।

त्यस्तै कार्यपालिकाले पञ्चायतकाल, बहुदलमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेको विभिन्न नियुक्ति, अवकाश, भारतसँग गरेको टनकपुर बाँधको पानीको बाँडफाँड लगायतको सन्धिलगायत निर्णयहरू हाम्रो सर्वोच्च अदालतले बदर गर्दै आएको छ । अल्पमतका एमाले प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको संसद् विघटनसमेत २०५२ भदौ १२ मा सर्वोच्च अदालतले बदर गरेको थियो । अदालतका यस्ता कामकारबाहीप्रति असहमति जनाउँदै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले न्यायपालिकाको अधिकार कटौती गर्नुपर्ने तथा सर्वोच्च अदालतलाई राजदरबारकै शाखाका रूपमा सार्नुपर्ने समेत भन्नुभएको थियो ।

जसरी हालसालै नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संसद् अधीनस्थ राख्नुपर्छ भन्नुभएको थियो ।

आफू सत्तामा बसेको बेला न्यायपालिका अर्थात् अदालत आवश्यक पर्दैन । सत्ता बाहिर भएको बेला न्याय माग्न जाने ठाउँ नै अदालत हो । राजनीतिक दलले न्याय दिन होइन भन्ने कुरा त सबैलाई घामजत्तिकै थाहा छ । नेताले भनेको नमानेको, प्रधानमन्त्रीले भनेको नमानेको, प्रधानमन्त्री लगायतका दूतलाई प्रधानन्यायाधीशले भेट्न नमानेको, फोनमा कुरा गर्न नमानेकोमा त सुशीला कार्कीजस्तो निर्भीक र स्वच्छ न्यायमूर्तिको प्रशंसा गर्नुपर्छ । राजनीतिक दलका नेताको निर्देशन र इसारामा चल्ने र उनीहरूका प्रियपात्र भइदिने हो भने त जनताको न्यायको धरोहर मर्न जान्थ्यो । सर्वोच्च अदालत राष्ट्रिय सतर्कता केन्द्रसरह प्रधानमन्त्री कार्यालय मातहत हुन जान्थ्यो । केही अघिका गन्हाएका साधु हुँ भन्ने प्रधानन्यायाधीश जस्तै सुशीला पनि हुन्थिन् ।

कुनै सामान्य फौजदारी मुद्दामा त प्रमाणले कसुर गरेको देखिने अवस्थामा मात्र कारबाही अगाडि बढाइन्छ भने महाअभियोगमा भने अभियोग लाग्ने बित्तिकै निलम्बन गर्ने त्रुटिपूर्ण संवैधानिक व्यवस्थाको आडमा न्यायपालिकालाई आफ्नो निर्देशनमा चलाउन सत्ताधारीहरू लागिपरेका छन् । के प्रधानन्यायाधीशले प्रधानमन्त्रीले भने बमोजिम काम गरिदिनुपर्ने हो त ? कार्यकारी अधिकार प्रयोगमा कानुनले कुनै मापदण्ड पालना गर्नु नपर्ने गरी स्वेच्छाचारी हुन छुट दिएको छ ? त्यस्तो मापदण्ड प्रयोग नगरी गरेको प्रहरी प्रमुखको नियुक्तिमा मापदण्ड प्रयोग गरेर पुन: निर्णय गर भन्नु कदापि हस्तक्षेप र शक्ति पृथकीकरणको सिद्धान्तको विपरीत हुँदैन ।

अदालतका आन्तरिक कामकारबाही दलहरूको जानकारीमा कसरी पुग्यो ? मुद्दा तोक्ने काम प्रधानन्यायाधीशको हो । कुन मुद्दा कुन न्यायाधीशलाई तोक्ने उनको अधिकार हो । अन्य न्यायाधीशले आफूले अमुक मुद्दा मैले हेर्न पाउनुपर्छ भनी माग्ने होइन । मुद्दाका पक्ष वा सरोकारवाला नेपाल बारका वकिल वा राजनीतिक दलले अमुक न्यायाधीशको इजलासमा मुद्दा तोक्नुपर्छ भनी निर्देशन गर्ने पनि होइन । कनकमणि दीक्षित वा लोकमान वा प्रहरी प्रमुख वा प्रेरणा राणाका मुद्दा अमुक न्यायाधीशलाई तोकिएन भनेर गुनासो गरिनु उचित होइन ।

प्रधानन्यायाधीशले अन्य न्यायाधीशलाई निर्देशन दिने कुरै हुँदैन र दिएमा पनि कसैले मान्दैन । सुशीला कार्कीले मुद्दा हटाउन लगायत वकिलका कुरा सुनिनन् होला, बोली खरो र रुखो भयो होला, तर यस्ता व्यवहार दलको अफिसमा पुग्नु सोही कुरालाई महाअभियोगका आधार बनाउनु लोकलाई हँसाउनु हो । न्याय निरूपण गर्ने उनको निष्ठाप्रति आरोप लगाउन सकिएको छैन । विगतका साधु हुँ भन्नेले गरेजस्तो व्यवहार र क्रियाकलाप नगर्नु नै उनको कमजोरी हुन गयो । सतीले सरापेको देशमा यस्तै हुने रहेछ !

प्रहरी प्रमुख विवादको मुद्दा अझै सर्वोच्च अदालतमा चलिरहेको छ । अदालतमा विचाराधीन मुद्दाको विषयलाई लिएर संसद्मा छलफल गर्न पाइँदैन । सर्वज्ञरत्न तुलाधरविरुद्ध राष्ट्रिय पञ्चायत भएको मुद्दामा न्यायमूर्ति विश्वनाथ उपाध्यायको नजिर नै कायम छ ।

अहिले जनता स्वतन्त्र न्यायपालिकाको पक्षमा जागेका छन् । पूर्वप्रधानन्यायाधीशहरू, डा. गोविन्द के.सी., कृष्ण पहाडी आदिजस्ता सामाजिक अभियन्ताहरूलगायत सबै क्षेत्रका जनता जागेका छन् । समग्रमा आम नेपालीको चाहना बुझेर यो झुटो महाअभियोग फिर्ता गर्नुपर्छ । र, यथावत् रूपमा प्रधानन्यायाधीश सुशीला कार्कीलाई काम गर्न दिनुपर्छ ।

कार्की विशेष अदालतका पूर्वअध्यक्ष हुन् ।

read more...

‘जेठको दोस्रो साता दोस्रो चरणको चुनाव’

Apeal shrestha | May 04, 2017 | Be the first to comment!


वैशाख २२, २०७४- प्रमुख प्रतिपक्षी एमालेले जेठ ३१ मा घोषित दोस्रो चरणको निर्वाचनलाई जेठ १० वा ११ गते गर्न माग गरेको छ । एमालेका नेताहरूले त्यसका लागि निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

एमालेले जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेकाले त्यस पछाडि निर्वाचन सम्भव नहुने भन्दै त्यसलाई बजेटपूर्व चुनाव सार्न दबाब दिएको हो । एमाले नेताहरू बिहीबार निर्वाचन आयोग पुगेर दोस्रो चरणको निर्वाचन नजिक सार्नका लागि आग्रह गरेका हुन् ।



एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले विगतमा मौखिक रूपमा गर्दै आएको आग्रहलाई लिखित रूपमा आयोगसमक्ष कुरा राखिएको बताए । ‘धेरै कारण छन्, जसले जेठ ३१ मा निर्वाचन अप्ठ्यारो छ,’ कान्तिपुरसँग उनले भने, ‘दोस्रो चरणको निर्वाचनलाई जेठ १५ अगावै ल्याउनुपर्छ । जेठ १५ मा बजेट आउनुपूर्व नीति तथा कार्यक्रम आउने भएकाले त्यसलाई समेत समय छाडेर जेठ १० वा ११ गते दोस्रो चरणको निर्वाचन गरौं भन्ने हाम्रो आग्रह रह्यो ।’

उनले असारको अन्त्यमा बजेट ल्याउने चलन र त्यसले पारेको नकारात्मक असरलाई हेर्दै लामो अनुभव र छलफलपछि संविधानमै जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था गरिएको बताए । ‘दुई निर्वाचनको बीचमा आउने बजेट निर्वाचन आचारसंहिताविपरीत हुन्छ भनेर आयोगले पनि भनेको छ । बजेटले दोस्रो चरणको निर्वाचनलाई प्रभावित बनाउँछ । त्यो हामीलाई स्वीकार्य हुन्न,’ नेम्वाङले भने, ‘बजेटसम्बन्धी संवैधानिक व्यवस्थाको हेरफेर होइन कि निर्वाचनलाई नै त्यस अगाडि सार्नुस् भन्ने आयोगलाई भन्यौं ।’ एमालेले दोस्रो चरणको निर्वाचनमा जाँदा आयोगले प्रमुख प्रतिपक्षी दल आफूहरूसँग सामान्य परामर्शसमेत नगरेकोमा असन्तुष्टिसमेत जनाएको छ ।

एमालेले हठात् लामो अन्तर राखी दोस्रो चरणको निर्वाचन घोषणाले विभिन्न संशय र प्रश्नहरू उठेको तर्फपनि आयोगको ध्यानाकर्षण गराएको छ ।

आयोगलाई बुझाएको ध्यानाकर्षण पत्रमा एक महिनाको अन्तरालमा घोषणा गरिएको दुई चरणको निर्वाचनले अन्योल, अनिश्चितता र द्विविधा उत्पन्न गरेको जनाएको छ । ‘यति गम्भीर निर्णय गरिँदा निर्वाचन आयोगले प्रमुख प्रतिपक्षी दलसँग सामान्य परामर्श गर्नु पनि आवश्यक नठानेकोमा हामी आश्चर्य चकित भएका छौं,’ पत्रमा भनिएको छ ।

‘पहिलो र दोस्रो निर्वाचनबीच यति लामो समयअन्तर किन राखियो ? त्यो पनि आयोगकै परामर्शमा’ आयोग पुगेका एमाले नेताहरूले प्रश्न तेस्र्याएका थिए ।

पहिलो चरणको मतगणना, बजेट र मुस्लिमहरूको चाड रमजानलाई दृष्टिगत गरी जेठ ३१ मा कुनै पनि हालतमा निर्वाचन उपयुक्त नहरेको एमाले नेताहरूको भनाइ थियो ।

‘पहिलो चरणको मतगणना के गर्नुहुन्छ ? आयोगसँग हाम्रो प्रश्न रह्यो,’ नेम्वाङले भने, ‘निर्वाचनलगत्तै गर्नुहुन्छ भने त्यसको परिणामले दोस्रो चरणको निर्वाचनलाई प्रभावित गर्छ । त्यो स्वच्छ र निष्पक्ष निर्वाचनको मूल्य मान्यताविपरीत हुन्छ । हामीलाई स्वीकार्य हुन्न । मतगणना गर्नुहुन्न भने एक–एक महिनासम्म मतपेटिकालाई कस्तो सुरक्षा व्यवस्थामा राख्नुहुन्छ ? यसको विश्वसनीय जवाफ खोजेका छौं ।’ जेठ मध्यपछि मुस्लिम समुदायको एक महिना लामो रमजान पर्व सुरु हुने र ५ प्रतिशत जनसंख्या रहेको उक्त समुदायका मानिसले भोक भोकै कसरी उम्मेदवार हुने ? कसरी प्रचारप्रसारमा र मतदान गर्न जाने ? त्यसतर्फ पनि आयोग पदाधिकारीको ध्यानाकर्षण गराइएको नेम्वाङले बताए ।

उनले पहिलो चरणको चुनाव वैशाख ३१ कै मितिमा गर्न र दोस्रो चरणको चुनावको समय अन्तर कम गरी एकैपटक मतगणनाको माग गरेको जनाए । ‘सबै प्रश्नहरूको उपाय भनेको दोस्रो चरणको निर्वाचनलाई नजिक ल्याउनु नै हो,’ उनले भने, ‘संवैधानिक निकाय निर्वाचन आयोगले ती हामीले उठाएका विषयहरूलाई बुझेर त्यसैअनुसार निर्णय लिई सरकारलाई परामर्श देओस् भन्ने अपेक्षा लिएका छौं ।’ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले एमाले नेताहरूसँग निर्वाचनको तिथि सन्दर्भमा दलहरूबीच सहमतिका लागि आग्रह गरेका थिए । नेम्वाङको नेतृत्वमा आयोग पुगेको टोलीमा एमाले नेताहरू राधा ज्ञवाली, राजेन्द्र पाण्डे, अग्नि खरेल र कृष्णगोपाल श्रेष्ठ सहभागी थिए ।


‘दोस्रो चरणको चुनाव चाँडै गरौं’
पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तहको दोस्रो चरणको निर्वाचन चाँडै गर्नुपर्ने बताएका छन् । पहिलो र दोस्रो चुनावबीच एक महिना समय राख्दा अन्योल बढ्ने उनको धारणा छ ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण तथा पुराना कार्यसमितिलाई बिदाइ कार्यक्रममा बिहीबार उनले निर्वाचनले सकारात्मक सन्देश दिए पनि अहिलेसम्म दोस्रो चरणको निर्वाचनबारे तयारी नगर्दा अन्योल रहेको बताए । ‘पहिलो चरणको निर्वाचन र दोस्रो चरणको निर्वाचनबीच एक महिना लामो समय राख्न हुँदैन, चाँडै गरौं,’ उनले भने ।

जेठ १२ गतेभित्रमा दोस्रो चरणको निर्वाचन गर्न सकिने उनको सुझाव थियो । जेठ १५ गते बजेट आउने भएकाले उक्त दिन चुनाव गर्दा केही समस्या नहुने उनको तर्क थियो । उनले मधेसी मोर्चाको एक घटक संघीय समाजवादी फोरम निर्वाचनमा आएकामा खुसी लागेको भन्दै लोकतन्त्रप्रति फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रतिबद्धता देखिएको बताए ।

read more...

झन्डा र टिसर्ट बनाउन भ्याइनभ्याई

Apeal shrestha | May 04, 2017 | Be the first to comment!


वैशाख २२, २०७४- राजधानी बागबजारस्थित श्याम एन्ड श्यामका सञ्चालक श्याम बिहीबार मध्याहन पसल बाहिर कपडा काटेर सिलाइएको कांग्रेसको झन्डामा धागो काटिरहेका थिए । ‘यसमा अझै चार तारेको प्रिन्ट गर्न बाँकी छ । अर्डर धेरै थियो, लिन आउने बेला भइसक्यो,’ उनले भने ।

हामीसँग कुरा गरिरहेकै बेला अपरिचित व्यक्तिको फोन आयो । फोनमा एक हजार थान टिसर्ट र चार हजार थान झन्डाको माग गरे । उनी फोनमा भन्दै थिए, ‘आजको आजै त दिन सकिँदैन । दुई–तीन दिन पर्खनुस् ।’ फोन गर्ने व्यक्तिले चाँडै बनाउन हतारो गरिरहेका थिए । तर, श्यामले बनाए बनाओस्, नबनाए नबनाओस् जस्तै गरिरहेका थिए । पछिल्लो दुई महिनामा ३० हजार थानभन्दा बढी झन्डा र १० हजार थान टिसर्ट बिक्री गरिसके । एउटा झन्डाको सरदर ५० रुपैयाँ र टिसर्टको दुई सय राख्दा उनले पछिल्लो दुई महिनामा ३५ लाखभन्दा बढी कारोबार गरिसके । बिक्री भएको झन्डा र टिसर्टमध्ये ५ प्रतिशत जति अरू पार्टीको भए पनि अरू सबै एमाले र कांग्रेसको झन्डा बिकेको उनले बताए ।

कांग्रेसको रूखको चिहन भएको १२ बाई १८ साइजको झन्डाको ३० रुपैयाँ र ३० बाई २० को ७५ रुपैयाँ लिने गरेका छन् । टिसर्टको दुई सय रुपैयाँ लिने गरेका छन् । ‘बजारमा टिसर्ट पाइरहेको छैन,’ उनले भने, ‘अर्डर लिएको तीन दिनमा तयार गर्दै दिइरहेको छु ।’ दैनिक कम्तीमा एक हजार थान झन्डा बिक्री भइरहेको उनले बताए । तर अचेल उनलाई खाना खाने र सुत्ने समय निश्चित छैन । बागबजारका यस्ता काम गर्ने उनी पुराना व्यवसायी हुन् । यो पेसा गरेकै ५० वर्ष भइसकेको उनले बताए ।

बागबजारकै कामना आर्टका सञ्चालक नरेश चौधरी र उनका सात कामदार दैनिक तीन घण्टाभन्दा सुत्दैनन् । उनको पसलमा ५० वटा झन्डा पनि तत्काल पाउन गाह्रो छ । बूढानीलकण्ठका राजु खडका दुई सय टिसर्ट र ५० वटा झन्डा खोज्दै बागबजार पुगेका थिए । बजारमा नपाएपछि अर्डर गरेर फर्किए । पाँच सय झन्डाको अर्डर आउँदा तयार गर्न तीन दिन लाग्ने चौधरीले बताए । ‘धेरैको अर्डर क्यूमा छ,’ उनले भने । शुक्रबारसम्म माओवादीको ६ हजार झन्डा तयार गर्नु छ । तीन हजार मुगुबाट र ३ हजार सिन्धुपाल्चोकबाट अर्डर आएको उनले बताए । एमालेको टिसर्ट र कांग्रेसको झन्डाको अर्डर पनि उत्तिकै छ ।

‘खाने र सुत्ने त ठेगान छैन,’ उनले भने, ‘सिजन यही हो । अरू बेला गर्छु भनेर पनि पाइँदैन ।’ अरू पसलमा सिलाइ गर्न एकातिर, प्रिन्ट गर्न अर्कैतिर लैजानुपर्छ । उनको पसलमा सिलाइ गर्ने, प्रिन्ट गर्नेदेखि सबै सुविधा छ । पछिल्लो दुई महिनामा ३० हजार झन्डाको १७ लाखभन्दा बढी लिइसके । जति बिक्री भयो त्यसको ७५ प्रतिशत अर्थात् १२ लाख ७५ हजार खुद नाफा कमाइसके । बजारमा झन्डा बनाउने कपडा अभाव हुन थालेपछि उनले बुधबार ८० हजारको सेतो र रातो कपडा ल्याए । ८० हजारमा किनेको कपडाबाट चार लाख रुपैयाँ कमाउने सपना देखेका छन् । ‘सपना होइन, साँच्चिकै कमाउँछु २० रुपैयाँ खर्च गरेर ७० रुपैयाँ आउँछ,’ उनले भने, ‘अनि कमाउदिनँ त ।’ यस वर्ष कांग्रेस र एमालेको झन्डा धेरै बिक्री भएको उनले बताए ।

मूल सडकको सटरमा ग्राहक तान्न ठूला पार्टीका झन्डा बनाएर लहरै राखिएका छन् । ती पसलले अर्डर लिन्छन् । भित्री अँध्यारो गल्लीमा प्रिन्ट र सिलाइ गरिरहेका भेटिन्छन् । कतिपय पसलमा उभिने बित्तिकै कुन पार्टीको कति झन्डा चाहियो भन्दै तान्न खोज्छन् । विगतको जस्तो क्याप, झोला छापिदिन आग्रह गरे पनि सम्भव नभएको भन्दै व्यापारीहरू पन्छिने गरेका छन् ।

अर्डर गरेको झन्डा र टिसर्ट लिन कुरेर बस्ने कार्यकर्ता पसलमा प्रशस्तै भेटिन्छन् । बार्गेनिङ गरेर मूल्य घटाउनेभन्दा चाँडो सामान चाहियो भनिरहेका कार्यकर्ता पनि भेटिए । एमालेको झन्डा प्रिन्ट गरिरहेका सेतीदेवी प्रिन्टका सञ्चालक लक्ष्मण राईले अर्डर लिन नसक्ने भनेर फर्काएपछि भनसुन गर्ने पनि हुने उनले बताए । ‘मूल्यको त कुरै छैन । काम गर्न भ्याइँदैन भन्यो भने आफन्त पत्ता लगाएर फोन गर्न लगाउँछन्,’ उनले भने, ‘२४ सै घण्टा काम गर्दा पनि भनेको समयमा दिन भ्याइनभ्याई हुन्छ ।’ पछिल्लो समय २० हजारभन्दा बढी झन्डामा प्रिन्ट गरिसकेको उनले बताए । उनी एउटा झन्डामा प्रिन्ट गरेको १० रुपैयाँ लिन्छन् । बिहीबार उनी कांग्रेसको दुई हजार टिसर्ट र एमालेको पाँच सय झन्डा तयारी गर्ने चटारोमा थिए ।

व्यापारी नरेन्द्र खड्काले कपडा नै अभाव रहेको बताए । उनले पनि यसपालि कम्तीमा २० हजार झन्डा बिक्री गरिसके । जसमा एमाले र कांग्रेसकै झन्डा बढी थिए । कुनै पार्टीको पाँच सय झन्डा किन्न आउने ग्राहकलाई तत्काल दिन सक्ने अवस्थामा नरहेको उनले बताए । ‘स्टक माल छैन, अर्डर लिन्छौं । बनाएर दिने गरेका छौं,’ उनले भने । बागबजार चोकदेखि पुतलीसडक चोकसम्म २० भन्दा बढी यस्ता पसल छन् । एउटा पसलमा सरदर २० हजार मात्रै झन्डै बिक्री भए पनि अहिलेसम्म ४ लाख झन्डा बिक्री भइसके । एउटा झन्डाको सरदर ५० रुपैयाँ मूल्य राख्दा दुई करोडभन्दा बढीको झन्डा बिक्री भइसकेको अनुमान छ । टिसर्टको मूल्य त यसमा समावेश गरिएको छैन ।

read more...

लमजुङका चार वडा सदस्य निर्विरोध

Apeal shrestha | May 04, 2017 | Be the first to comment!


वैशाख २१, २०७४- स्थानीय तह निर्वाचनको क्रममा लमजुङका ३ स्थानमा ४ जना वडा सदस्य निर्विरोध भएका छन् ।

चुनावमा गठबन्धन गरेर अघि बढेका एमाले र माओवादी केन्द्रका खुल्ला तथा दलित महिला सदस्य निर्विरोध भएका हुन् । नेकपा एमालेको तर्फबाट मस्र्याङ्दी गाउँपालिका ८ भुलभुलेमा कृष्णकुमारी गुरुङ महिला सदस्यमा निर्विरोध भएकी छन् । उक्त स्थानमा कांग्रेसबाट उम्मेदवारी दिएकी मनकाशी गुरुङको उम्मेदवारी रद्द भएपछि कृष्णकुमारी निर्विरोध भएकी हुन् ।
मनकाशी अतिरिक्त हुलाक कार्यालय भुलभुलेमा कार्यरत कर्मचारी भएको उजुरी परेपछि उम्मेदवारी रद्द गरिएको निर्चाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, क्व्होलासोंथर गाउँपालिका ४ भुजुङमा नेकपा एमालेबाट दलित महिला सदस्य जालु दमै निर्विरोध भएकी छन् । उक्त वडामा एमालेबाटै उम्मेदवारी दिएका अर्को खुल्ला एकजना सदस्यपनि निर्विरोध भएका छन् । खुल्ला दुई चाहिनेमा एमालेबाट दुई जनाको मात्र उम्मेदवारी परेको छ । कांग्रेसका तर्फबाट एकजनाले मात्रै उम्मेदवारी दिएका छन् ।

कांग्रेसबाट उम्मेदवारी परेका अर्को एक सदस्यको योग्यता नपुगेपछि उम्मेदवारी रद्द भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बैशाख २२ गते निर्वाचन चिन्ह वितरणको समयमा निर्विरोध हुने सदस्यको नाम टुंगो लाग्ने कार्यालयले जनाएको छ । यस्तै, दूधपोखरी गाउँपालिकाको ४ इलमपोखरीमा माओवादी केन्द्रबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी सुनिता विक निर्विरोध भएकी छन् ।



read more...

मेयरका उम्मेदवार भन्छन्- ‘समृद्ध काठमाडौं बनाउँछौं’

Apeal shrestha | May 04, 2017 | Be the first to comment!


स्नानीय तहको निर्वाचनमा उम्मेदवारी दर्तासँगै दलका प्रत्याशीले घरदैलो कार्यक्रम सुरु गरेका छन् । काठमाडौं महानगरपालिकामा कांग्रेस, एमाले, साझा पार्टी र विवेकशीन नेपालीका उम्मेदवारको विशेष चर्चा छ । राजधानी सहरलाई सुरम्य र सुरक्षित बनाउने उनीहरूका योजना छन्

वैशाख २२, २०७४- राजुराज जोशी, कांग्रेस

म मेयरमा विजयी भएपछि सडक इन्च पनि विस्तार गर्न दिन्न । जनताका घर भत्काएर सडक विस्तार गर्न पाइँदैन, किनभने त्यसको सट्टा ‘मास’ ट्रान्सपोर्टेसनको अवधारणा अघि बढाउनपर्छ, सुरुङमार्गको निर्माण गर्नुपर्छ । सडक विस्तारको सट्टा अन्य विकल्प अपनाउनै पर्छ । सडक विस्तारका नाममा घर भत्काएर जनतालाई सुकुम्बासी बनाउन पाइँदैन । मुख्य सहरभित्रमा साना–साना गल्लीका साना एम्बुलेन्स र दमकलको व्यवस्था थर्न सकिन्छ, तर घर भत्काएर सडक विस्तार गर्न दिन्न । सहरको सुन्दरता, ऐतिहासिकतालगायतका पहिचान गुम्ने किसिमका कुनै पनि काम गर्दैनौं । यो पहिचानसहितको सहरको यहाँको ऐतिहासिक, सांस्कृतिक वस्तु हेर्न पर्यटक आउँछन् । त्यसकारण समृद्ध काठमाडौं नै मेरो नारा र सपना हो ।

विद्यासुन्दर शाक्य, एमाले

काठमाडौंलाई स्वच्छ, सफा र सुन्दर सहरका रूपमा विकास गराउनुपर्छ । धूलो, धूवाँ र सडक त सामान्य हो । तर, अब ती समस्यालाई ठूलो रूपमा लिनु हुँदैन । किनभने महानगरले इमान्दर रूपले काम गर्दा समाधान हुन्छन् । सहरका मुख्य बस्तीलाई कसरी व्यवस्थित गर्नुपर्छ, भनेर पहिलो प्राथमिकतामा राख्नुपर्छ । पार्किङ, खानेपानीलगायतका समस्या छन् ।

ठूला–ठूला अपार्टमेन्ट बनाएर ती भवनमा पार्किङको व्यवस्था गर्नुपर्छ । मेरो उम्मेदवारी समृद्ध महानगर बनाउनका लागि हो । त्यसका लागि मसँग सोच छ । किनभने दुई कार्यकाल मैले वडा अध्यक्षका रूपमा निर्वाचित भएर महानगरवासीका समस्या बुझेको छु । यातायात, पार्किङ, ल्यान्डपुलिङ गरेर व्यवस्थित बसोबासको प्रबन्ध मिलाउँछौं । ऐतिहासिक सहरको पहिचानको चिनारी दिँदै भूकम्पबाट क्षतिग्रस्त सम्पदाको जीर्णोद्धार गर्छौं ।

किशोर थापा, साझा पार्टी
महानगरलाई पूर्वाधारयुक्त सहर बनाउने, फोहोरमैलालाई व्यवस्थित रूपमा हटाउने मेरो लक्ष्य हो । किनभने काठमाडौं मुलुककै राजधानी हो । सफा, सुरक्षित र सबै भन्ने तीन ‘स’ मैले मुख्य एजेन्डा बनाएको छु । सफा भन्ने बित्तिकै सफा सुन्दर भन्ने आउँछ किनभने प्रत्येक मानिसलाई सरसफाई चाहिन्छ । सुरक्षित भन्नाले सडकलगायत जताततै मानिसलाई सुरक्षा चाहिन्छ । जति सहरीकरणको विकास हुँदै जान्छ, त्यति मानिसलाई सुरक्षा चाहिन्छ । सबै भन्नाले यो सहर केवल महानगरवासीको मात्र होइन यहाँ संसारका मानिस बस्छन् उनीहरूलाई पूर्वाधारयुक्त सहर चाहिन्छ ।

त्यसकारण उनीहरूको सुरक्षालगायत सुविधायुक्त पूर्वाधारको विकास गर्नु हाम्रो दायित्व हो । ऐतिहासिक सहरको सम्पदा संरक्षणलगायतमा ध्यान दिनुपर्छ । खुला क्षेत्रको संरक्षण गर्नुपर्छ, ती खुला क्षेत्रलाई खुला नै राख्नुपर्छ । आ–आफ्नो टोल–टोलमा बालबालिका, महिला र वृद्धवृद्धालाई खुला क्षेत्रमा डुल्न पाउनुपर्छ । स्थानीयवासीको सक्रियतामा खुला स्थानको संरक्षण गर्छौं ।

रञ्जु दर्शना, विवेकशील पार्टी
महानगर नाम मात्रामा सीमित छ । मैलै जितेपछि यसलाई संसारकै उत्कृष्ट सहरमध्ये एक बनाउने मेरो लक्ष्य हो । किनभने ऐतिहासिकता बोकेको सहरलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सहर बनाउनैपर्छ । प्रत्येक योजना बनाउँदा मैले नागरिकलाई केन्द्रमा राख्ने गरेको छु । त्यसका लागि चारवटा अवधारण छन् सडक पैदलयात्रीमैत्री, साइकलमैत्री बनाउने, पर्याप्त खुलास्थान र व्यवस्थित सार्वजनिक यातायात चलाउने । धूलो, धूवाँलाई नागरिक तहबाटै पत्ता लगाएर यसलाई मापन गर्ने दायित्व महानगरकै हो । त्यसलाई महानगरको संयन्त्रभित्र ल्याउने मेरो काम हुन्छ । काष्ठमण्डप काठमाडौं पहिचान र चिनारी हो ।

स्थानीय विज्ञसँग छलफल गरेर उहाँहरूकै सुझावअनुसार सम्पदाको संरक्षण र परम्परागत शैलीमा निर्माण गर्छौं । आमनागरिकले घर बनाउँदा परम्परागत शैली निर्माण गर्न अनुरोध गर्छौं । ढुगेधाराको मौलिकता ननासिने गरिने मर्मतसम्भार गर्छौं । महानगरका मौलिक बस्तीमा सम्पदा भ्रमण विशेष कार्यक्रम गरी आन्तरिक तथा बाह्य आकर्षण केन्द्र बनाइन्छ । सरकारसँग मिलेर महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मस्थानलाई संग्रहालय बनाउँदै देवकोटा नगरका रूपमा विकास गर्नुपर्छ । जहाँ स्वदेशी र विदेशी साहित्यकारले विचार विमर्श गर्न सकुन् ।

३७ जनाको उम्मेदवारी फिर्ता
भक्तपुर (कास)– स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका पाँच मेयरसहित ३७ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनका लागि चाँगुनारायण नगरपालिकाबाट मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका गोकर्णप्रसाद दाहाल, केशव खडका, नारायण कार्की, रामकृष्ण न्यौपाने र उमेशकुमार खडकासहित ३७ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । चाँगुनारायण नगरपालिकाबाट ५ मेयरसहित १२ उम्मेदवार, मध्यपुरथिमि नगरपालिकामा स्वतन्त्रबाट वडा अध्यक्ष पदमा उम्मेदवारी लिएका ४, महिला सदस्य ४ र वडा सदस्य पदबाट ६ जना गरी १४ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

सूर्यविनायक नगरपालिकामा नयाँ शक्तिबाट वडा सदस्य पदमा उम्मेदवारी दिएका हिरे तामाङ, स्वतन्त्रबाट तीन वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारले फिर्ता लिएका छन् । भक्तपुर नगरपालिकामा भने कांग्रेसका तर्फबाट महिला सदस्य पदमा उम्मेदवारी दिएका रोजीतुल्सी ब्याजुले उम्मेदवारी फिर्ता लिएको जनाएको छ । शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यालय भक्तपुरका निर्वाचन अधिकारी उमेशकुमार राईले बताए ।

read more...
 
Copyright © 2015 NAYA NEPAL
Distributed By My Blogger Themes | Template Design By BTDesigner